नागरिकले राजनीतिक दलका विभिन्न आकार, प्रकार, रूप, रंग र चरित्रका ‘गठबन्धन’ लाई ‘ठगबन्धन’ भन्न थालेको धेरै भइसक्यो । यसभित्र सामान्य ‘परिहास चेतना’ मात्र हैन ! गहिरो पीडा, अविश्वास, घृणा र वितृष्णा लुकेको प्रष्ट छ ।
नागरिक गठबन्धन राजनीतिको विद्यमान प्रवृत्तिबाट आफू ठगिएको, धोकाबाजी र गद्दारी भएको, विकास, सुशासन, समृद्धि र सामाजिक न्यायका लागि खर्चिनुपर्ने राष्ट्रिय जीवनको महत्वपूर्ण समयावधि र स्रोतसाधन खेर गएको अनुभूतिग्रस्त छन् । गठबन्धन राजनीतिको पछिल्लो शंृखला मूलतः अस्थिरता, विरोधाभास, अनैतिक सत्तालिप्सा, अप्राकृतिक गठजोड, कृत्रिम तर्कको सहारा, एकअर्कालाई ‘देखाइदिने/चखाइदिने’ प्रतिशोध/प्रतिरोधको भावना र गैरजिम्मेवार चरित्रको कडीमा उनिएको छ भन्न हिच्किचाउनुपर्दैन ।
प्रष्ट छ- दल र नेताहरू जे-जस्तो गठबन्धन संस्कृतिलाई मलजल गर्दैछन्, त्यो आम नागरिकलाई मन परेको छैन । कुनै ताल, सुर र लय नभएका, कुनै लक्ष्य, उद्देश्य र गन्तव्य नभएका, कुनै मूल्य प्रणाली, संस्कृति र मापदण्डमा नबाँधिएका, जो जतिखेर जता पल्टिन पनि मिल्ने गठबन्धन यथार्थमा ‘ठगबन्धन’ नै हुन् ।
लोकतन्त्र, त्यसमा पनि संसदीय प्रणाली भएको बहुदलीय लोकतन्त्रमा गठबन्धन कुनै आश्चर्यको कुरा भने थिएन । हैन पनि । संसारका अरू लोकतन्त्रमा पनि यस्ता गठबन्धन बेलाबेला बनेका थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतकै अभ्यास र अनुभव हेर्दा ‘एनडीए’ र ‘यूपीए’ गठबन्धनको दशकौं लामो अभ्यास देखिन्छ । भारतीय जनता पार्टी नेतृत्वको ‘एनडीए गठबन्धन’ यद्यपि जीवित छ भने विपक्षीहरूले नयाँ ‘इन्डिया गठबन्धन’ बनाएका छन् ।

